यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । सातौं बागलुङ महोत्सव आज बुधबार बाट सुरु हुँदैछ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ । महोत्सव उद्घाटन गर्न आज राष्ट्रपति पौडेल बागलुङ जाँदैछन् ।
बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई सिंगारिएको छ । महोत्सवको सबै तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भने, ‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’
राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजे बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उदघाटन गर्नेछन् । महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ ।