|  

६ करोड रुपैयाँभन्दा बढीको अदुवा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट बिक्री

११ पुष २०८०, बुधबार ११:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख रुपैयाँ आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिनुभयो । गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टल अदुवा चार हजार रुपैयाँका दरले बिक्री गरेका छन् । व्यापारी गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।

व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर रुपमा खेती गर्दै आउनुभएको छ । यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजार रुपैयाँदेखि आठ हजार रुपैयाँका दरले बिक्री गरेकोे उहाँले बताउनुभयो ।

११ पुष २०८०, बुधबार ११:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस