|  

पुस २३ गते राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको मनोनयन तयारी

१२ पुष २०८०, बिहीबार १५:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि यही २३ गते सोमवार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले जानकारी गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्नेछ ।
महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिकरूपमा विपन्न भएको भनी सम्बन्धित पालिकाको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।
अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ ।
यस्तै, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको मेयर वा उपमेयर समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको बेहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ ।

१२ पुष २०८०, बिहीबार १५:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस