यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराईरमधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।
सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।
नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन ।