यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जाजरकोट भूकम्पपछि रुकुम पश्चिममा सात हजार अस्थायी टहरा निर्माण भएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको अनुदान रकमबाट हालसम्म सात हजार ७९ टहरा निर्माण भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार अहिलेसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा तीन हजार ४२ अस्थायी टहरा निर्माण भएका छन् । आठबिसकोट नगरपालिकामा तीन हजार १४ टहरा निर्माण भएका छन् ।
बाँकी अस्थायी टहरा चौरजहारी, मुसिकोट, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा निर्माण भएको बताइएको छ । नौ हजार तीन सय ४१ अस्थायी टहरा भने हाल निर्माणकै चरणमा रहेको प्रजिअ पन्तको भनाइ छ ।
त्यस्तै जिल्लाका १९ हजार सात सय १७ लाभग्राहीले पहिलो चरणको अनुदान रकम प्राप्त गरेका छन् । जसअन्तर्गत ४९ करोड २९ लाख २५ हजार रकम लाभग्राहीको खातामा गएको छ ।
भूकम्पपछि रुकुम पश्चिममा साढे २३ हजार घरपरिवार लाभग्राहीको रुपमा कायम भएका छन् ।सोहीअनुरुप जिल्ला विपद कोषमा प्राप्त भएको ८४ करोड रकममध्ये स्थानीय विपद कोषमा ५९ करोड २ लाख रकम पठाइएको छ ।
उक्त रकम स्थानीय पालिकाले अस्थायी टहरा निर्माणका लागि पहिलो चरणको किस्ता बापत २५ हजारका दरले लाभग्राहीको खातामा पठाएका छन् । तर जिल्लाको बाँफिकोट गाउँपालिकाले भने हालसम्म कुनैपनि लाभग्राहीको खातामा अनुदान किस्ता पठाएको छैन ।