शहरमा बिहानै कुखुरा कराएको सुन्नै पाईदैन, बिहानै सुनिने भनेको त खाली मोटरसाईकलका आवाज, गाडीका चर्को हर्न मात्रै हुन् । अनि कलेज, स्कुल जाने केटाकेटीहरुको आवाज । हुन त त्यो बेलासम्म सुत्न पाउनु भाग्य, पत्रकार बनिया छ, दुनियाँमा यसलाई राज्यको चौथो अङ्ग भन्दोरहेछन् । तर घरमा यसलाई बेकारको दौडधुप भनेर संज्ञा पाईन्छ । बुढी जागिरे, बुबा, आमाको पेन्सन अनि मेरो पत्रकारिता । काम त सबैको उस्तै हो, सबैको पैसो कमाउने काम, जता पनि पैसा कै कुरा ।
मैले मेरै कुरा गर्दै छु, नयाँ बानेश्वर चोकैनिर सानो कोठा, कोठामा दराज, खाट, किचेन र्याक, बुवा, आमा, बुढी अनि एउटा छोरो । पाँच जनाको परिवार त्यहि एउटा कोठामा बस्दै आएको ७ बर्ष लाग्यो । आजसम्म बाहिर कतै काम बिषेश बाहेक गएको छैन । छोरोको बिहे भएर पनि नाती काँखमा खेलाउँदै गर्दा बुवा पुरानै ठट्टाहरु दोहोर्याई रहन्छन् । उति बेला छोरा मान्छे घरमा बस्ने जातै हैन भनेर जता पनि जानुहुन्थ्यो रे । नेपालका सबै ठाउँ घुमिसके भन्छन् । पुर्व पश्चिम सबै जिल्ला, ठाउँ सबै याद छ बुवालाई । सबै ठाउँ उमेरमै घुम्नुपर्छ भनेर भनिरहन्छन् । यस्ता कुरा बेलुका खाना खानेबेलामा जहिले सुन्न पाईन्छ ।
पुरानै घर त ईलाम हो, ईलामको कन्यामबाट धेरै तल बेशी झर्नुपर्छ । ईलाम भनेपछि पर्यटकिय ठाउँको याद आउँछ, ईलामको चिया बगान घुम्न देश तथा बिदेशबाट धेरै पर्यटकहरु जाने गर्छन्, तर हाम्रो बाध्यता अर्कै थियो । म घरको एक्लो छोरो, बुवाले जे मन लाग्छ त्यहि पढाउँछु भन्नुभाकै हो । मैले उति बेला जानी नजानी आर्टस् लिएर पढ्ने निधो गरे । पढाई राम्रै चल्दै १२ पास भएपछि सानो तिनो काम गर्दै पढ्ने सोच भयो । यस्तो सोच सबैको आउँछ । घर परिवारको आर्थिक अबस्था देखि कोठामा बसेर पढ्नुपर्ने बाध्यता प्राय सबैले भोगेकै हुन्छन् ।
गाउँको एउटा पत्रकार कहलिएको ब्यक्तिसँग राम्रै परिचय थियो । मेरो पनि भबिष्यमा पत्रकारीता नै थियो । अनि मैले भनि हाले, ‘दाई एउटा काम चाहियो’ उस्ले पनि छिट्टै बोल्यो, ‘मेरो एउटा साथी छ उसले पत्रिकामा काम गर्छ’, तिमी पनि त्यहि गर्छाै ?’ मैले ‘के गर्नुपर्ने’, भनेर सोधे । उसले भन्यो–‘समाचार लेख्ने हो ।’ समाचार पनि लेख्न नजान्नेलाई सिकाउँछ रे’ मैले ‘भोली जवाफ दिन्छु’ भन्दै घर फर्किए । १२ पास हुनेबित्तिकै मेरो बिहे भएकाले थप जिम्मेवारी बढ्दो थियो । काम नगरी सुखै थिएन । मैले बुवा, आमा अनि श्रीमतीसँग सल्लाह गरे । सबैको तर्फबाट हुन्छ भन्ने जवाफ आयो ।
भोलीपल्ट बिहानै काठमाण्डौ हान्निए । काम भनेको ठाउँमा पनि गए । सबैसँग परिचय भयो । काम केहिदिन सिके पनि । अहिले समाचारहरु ठिकै लेख्छु । त्यति गज्जव हैन । कहिलेकाँही भएन भनेर फेरी पनि लेख्न लगाउँछन् । भन्छन् आफ्नै भएर राखिरहेको हो । नत्र नजान्ने कर्मचारी पाल्दैनौ हामी । अरुको काम गर्दा यस्ता बोली आउनु कुन ठुला कुरा भयो र ?
करिव ४ बर्ष त्यहि काम गरेपछि अहिले काठमाण्डौमा कोठा छ । बुबा, आमा, श्रीमती पनि सँगै ल्याएर राखे । अहिले घरमा छोरो पनि छ । तोते बोली बोल्छ । जहिले उसैको अगाडी खेल्नुपर्छ । नत्र रोईदिन्छ । आमा, बुबा, श्रीमती, छोरोको मन बुझाएर काममा जानुपर्छ । बुवा रिटायर्ड आर्मी, ममीको बुढेसकालको पेन्सन, बुढी सहकारीमा जागिरे । अनि मेरो पत्रकारिता ।
पढाईसँगै काम गर्दै गए, पत्रिकामा समाचार लेख्न घरैबाट गर्छु भनेको धेरै भो, तर अहँ त्यसो गर्नै नपाईने । अफिसमै बसेर काम गर्नै पर्ने । अहिले पनि उहि काम गर्छु, पत्रिकामा समाचार लेख्ने काम । गाउँमा चलेकै पत्रिका हो । महिनामा बल्लतल्ल गरि जम्मा ७ हजार तलव । कोठा भाडा ४५ सय अरु सुबिधाअनुसार । त्यहि जागिर खाएको पनि ६ बर्ष भयो । तलव बढ्ने कुरै उठ्दैन ।
एकदिन गाउँमा बृहत् महोत्सव भयो । महोत्सव ५ दिनसम्म चल्यो । त्यो महोत्सवको समाचार प्रत्येक दिन मैले लेखेँ । आफ्नै जिल्ला ईलामको महोत्सव, बडो रमाईलो भयो । हरेक दिन मेरै बाई लाईनमा समाचार आयो । गाउँका सबै जनाले मैले ज्यादै ठुलो काम गरेको भनेर प्रशँसा गरे । बाटो, चिया पसल, पानी पधेरो सबैतिर मैरै चर्चा । हुन पनि त्यो गाउँमा पत्रकारिता गर्ने म नै एक्लो थिए । सबै ड्राईभर, सहचालक बन्थे भने धेरैजसो बिदेश नै जान्थे । तर मैले सम्मानको काम जानेर वा नजानेर पत्रकारितालाई रोजेर ठिकै गरेछ भन्छन् गाउँका आफन्तहरु ।
महोत्सवको आज अन्तिम दिन, पुरस्कार बितरण देखि कलाकारहरुलाई पारिश्रमिक दिने दिन । दिनभरी जसो नै कार्यक्रम सञ्चालन भयो । प्रत्येक जनाको फोटो, हुलहुजजतका फुटा यो सानो क्यामेरामा कैद गरियो । अन्तिममा मेरो नाम पनि आयो । सम्मानको लागी । मञ्चमा म पनि गए । दोसल्ला ओढाएर पत्रकार भनेर सबैलाई चिनाईदिए । सबैले तालि ठोके अनि म मञ्चबाट बाहिर निस्किए ।
ओफिसमा आएर एक हात लामो समाचार लेखे । दिनभरी खिचिएका फुटाहरु हेरेर गज्जव चैँ पत्रिकाको लागी छनौट गरे । भोलीपल्ट बिहानै पत्रिकामा मेरो बाईलाईनसहित पुरै समाचार आयो । सबैले समाचार हेरे अनि प्रशंसा गरे ।
चिया पनि नखाई बिहानै जानुपर्छ अफिस, ६ बजेको घण्टी बजेपछि बाटो तताईहाल्नुपर्ने यो कस्तो जागिर हो ? मनमा यस्ता प्रश्न आईरहन्छन् ? अनि आफैँभित्र प्रश्नको उत्तर आउँछ, खुसि लाग्छ । दशैँ आउँछ, तिहार आउँछ तर पत्रकारलाई बिदा हुँदैन, बिदाको कुरा गर्न मिल्दैन भन्छन्, अरु कर्मचारी घर जाने भन्दै झन् धेरै काम थपिन्छ । दुई चार दिन पनि घरमा बस्न नपाउने मेरो जागिर, कस्तो पत्रकारिता हो यो ?
कोहि बिदेश जान नपाएर, कोहि पढाईमा बिफल भएर,कोहि युटुवतिर लागेर पत्रकारितालाई सुरु गरेको मान्छे म होईन, बिषय नै त्यहि हो । अहिले त्यहि काम गर्दैछु ।
गत साल आमा बेस्सरी बिमारी पर्नुभएर अहिले नियमितजसो औषधी खानुपर्छ, औषधी किन्न धेरै महङगो छ । मेरो तलवले सबै गर्न पुग्दैन । तर जागिर छोड्ने मन पनि छैन । जेनतेन चलिरहेको छ । मैले त जेनतेन यो पेसा रोजेर राम्रो गरेको छु जस्तो मनमा हर्ष आउँछ । अनि मनमनै भन्ने गर्छु यो पेसा झुक्किएर पनि आफन्त जो कोहि भएपनि लाग्न अनि पढ्न दिनेछैन ।
आज बुवाको चौरासि छ, सबै जना पाहुना आउनुभएको छ । निन्द्राले आज छिट्टै छाड्यो । छोरो पनि बिउँझियो । म अफिस निस्किनै लागे । उस्ले हत्तपत्त मेरो हात समाउँदै भन्यो–‘बुवा पत्रकारलाई बिदा कहिले हुन्छ ?’ म अवाक् भए । अनि अफिसतिरै लागेँ । आजबाट ईलाममा मिनी महोत्सव सुरु हुँदै थियो ।