काठमाण्डौँ । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्यो।
मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्। ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो। ठीक भइहाल्ला नि ! भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं। एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौं।’
स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। ‘अलि सुविधासम्पन्न अस्पताल लैजाने पैसा थिएन। त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं’, सुनारले भने, ‘२५ दिनको छोरा र २ वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला ?’ ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनले भने, ‘भूकम्पपछि काममा पनि जान पाएको छैन। घरमा खानेकुरा पनि केही छैन। मेरो त बिजोग भयो,
चिसोकै कारण जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ। रुकुमपश्चिममा ५ जना गरी ३५ जना भूकम्पपीडितको निधन भइसकेको छ। धेरैजसो निमोनिया र दमका रोगीहरूको निधन भएको स्वास्थ्यकर्मी बताउँछन्। चिसोले गर्दा निमोनिया र दमका रोगीलाई निकै असर गरिरहेको उनीहरूको भनाइ छ।
चिसोका कारण जिल्लाभर श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन्। नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ। भूकम्पपछि त्रिपालको बसाईले चिसोका बिरामी बढ्दै गएको नलगाड स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए। चिसोबाट बिरामी भएर दैनिक १ सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको चनाराले बताए।
चिसोले निकै सताएको नलगाड नगरपालिका–७ की माया बादीले बताइन्। चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको बताइन्। ‘भूकम्पले बाँचे पनि चिसोले निकै सताइरहेको छ, उनले भनिन्, ‘नलगाड खोला किनारमा ३५ घरधुरी बादी बस्ती छ। त्यहाँ घरैपिच्छे बिरामी छन्। बच्चाबच्ची र बूढाबूढी सबै बिरामी छन्।’ साना बच्चालाई निमोनिया र वृद्धलाई दमले सताएको स्थानीय रमेश बादीले बताए। ‘रुघाखोकी, पखाला, ज्वरो त सामान्य भइसक्यो,’ उनले भने, ‘गाउँमा सबै बिरामी छन्।’
नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायतका गाउँमा चिसोले बिरामी बढेको जनस्वास्थ्य निरीक्षक चनाराले बताए। नगर अस्पताल दल्लीमा कार्यरत डा. विशाल उप्रेती बिदामा बसेको र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पताल जाजरकोटबाट डा.अविनव टिंकरीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्। जिल्लाभर चिसोका बिरामी बढेका छन्।
अरू ठाउँमा भन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ। जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब ४ सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा. भारतीको भनाइ छ। पखाला, निमोनिया, दम र रुघाखोकीले धेरै भूकम्पपीडितलाई थला पारेको छ। ‘हामीले उपचारको व्यवस्था मिलाइरहेका छौं’, उनले भनिन्, ‘कुनै पनि रोगको आउट ब्रेक हुन नदिन हामी
सतर्क छौं।’
जुनीचाँदेमा सिटामोलसमेत छैन
जुनीचाँदे–५ की कमला शाही ज्वरोले थलिएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट पुगिन्। तर, त्यहाँ उनले सिटामोलसमेत पाइनन्। ज्वरो आउँदा सिटामोल नै नपाउनु दुःखद भएको उनले बताइन्। औषधि नहुँदा बिरामी उपचारका लागि आउन छोडेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका इन्चार्ज विनोदकुमार बुढाले बताए। ‘६ महिनादेखि स्वास्थ्य संस्थामा औषधि आएको छैन। पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘ज्वरो, टाइफाइड, निमोनिया, पखाला, दमलगायतका रोगका बिरामी बढेका छन्। तर, सिटामोल, जीवनजल, एडबान्डाजोल, मेट्रोनिराजोल लगायतका सामान्य खालका औषधिसमेत छैनन्।’
जुनीचाँदेका कुनै पनि स्वास्थ्य संस्थामा औषधि छैन। जुनीचाँदेका ११ वटै स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचार सेवा प्रभावित भएको छ। उपचारका लागि आउने बिरामी रित्तै फर्कन बाध्य छन्। पालिकाले बुधबार मात्र औषधिका लागि टेन्डर गरेको छ। जुनीचाँदेबाट सिटामोल, जीवनजल, बालभिटा, एल्वेन्डाजोल, मेट्रोनिराजोललगायतका औषधि माग गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.भारतीले बताइन्। हालसम्म औषधि नै माग नगर्दा जुनीचाँदेमा औषधि अभाव भएको उनको भनाइ छ।
स्वास्थ्य शाखाको लापरबाही र जनप्रतिनिधिको उदासीनताका कारण समयमा औषधि खरिद र आपूर्तिको काम हुन नसकेको हो। जसको मारमा भूकम्पपीडित छन्। जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको संख्या ३५ हजार १ सय ४० छ। त्यसमध्ये अस्थायी आवासका लागि पहिलो किस्ताको रकम ९ हजार ३ सय २५ घरधुरीले मात्र पाउन सकेका छन्। रकम पाउन नसक्दा अहिलेसम्म जाजरकोटमा एकाधबाहेक अस्थायी आवास निर्माण हुन सकेका छैनन्। मानिस अहिले पनि पुसको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा रात कटाउन बाध्य छन्।
भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ।
आपतकालीन अबस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरू फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. प्रतिक्षा भारतीले जानकारी दिइन्। अन्नपूर्ण पोष्टबाट साभार