|  

समुदायको पहिचानमा मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ:प्रधानमन्त्री

१५ पुष २०८०, आईतवार ११:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको जनाउनुभएको छ ।

प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

१५ पुष २०८०, आईतवार ११:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस