गजुरी / फोहोर मैला ब्यबस्थापन सम्बन्धि एकदिने कार्यक्रम धादिङ गजुरीको आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । गजुरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा फोहोरमैला संकलन बर्गिकरण तथा ब्यबस्थापन सहजिकरण, यसको ब्यबस्थापन, समन्वय तथा कसरी बर्गिकरण गर्ने भन्ने सम्बन्धमा छलफल भएको हो ।
स्वच्छ सफा गजुरी, सुन्दर हाम्रो नगरी भन्ने मूल उदेश्य राखेर सुरुवात गर्न लागेको यस अभियानमा एक समिती समेत गठन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारीको संयोजकत्वमा ११ सदस्यिय कमिटी गठन गरिएको छ ।
बिषेशगरि गजुरीको बजार क्षेत्रलाई समेट्ने वडा नम्बर १, २ ५ र ६ मा यो अभियान चलाईने वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीले बताउनुभयो ।
बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउने अभियानलाई अगाडी बढाएर हरेक टोल बजारमा फोहोरमैला राख्ने डस्विनसहितको सुबिधा दिने गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो । कुहिने, नकुहिने गरेर छुट्टाछुट्टै फोहोर फाल्ने डस्विन उपलब्ध गराउने उहाँको भनाई थियो ।
यो अभियान सुरुवाती भएको भन्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले फोहोरमैला ब्यबस्थापनका बिषयमा घरघरमा पुगेर अनुगमन गर्ने तथा यो कार्यक्रम सफल हुँदै गएपछि पािलकास्तरिय समिती समेत गठन गरिने उहाँले बताउनुभयो । यो कार्यक्रम मार्फत गाउँका केहि युवाहरुलाई रोजगारी दिनेमा समेत उहाँको जोड थियो ।
अहिले गजुरी ६ जहरेखेतमा सार्वजनिक शौचालय निर्माण भईरहेको छ भने गजुरी २ को चाम्बासमा पनि शौचालय निर्माणको योजना रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गजुरी गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा सवारी साधनबाट हुने फोहोरमैलालाई कम गर्नको लागी सूचना वोर्डहरु राखिने तथा नियम कानुन उलङ्घन गर्ने ब्यक्तिहरुलाई जरिवाना समेत गरिने गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गजुरी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ४ रोपनी ८ आना जग्गा खरिद गरिसकेको छ ।