काठमाण्डौँ । हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द छन् । हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाण्डौ सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ । त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ ।
यी सडकको विकल्पमा हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–मार्खु–चित्लाङ–थानकोटको बाटो प्रयोग गर्न इन्द्रसरोवर गाउँपालिकाले भनेको छ । त्यस्तै, कान्तिलोकपथको बाटो पनि विकल्पमा प्रयोग गर्न गाउँपालिकाले भनेको छ । कान्तिलोकपथ सडक हेटौँडाबाट ललितपुरको ठिंगन–तीनपाने–चापागाउँ हुँदै सातदोबाटो निस्कन्छ ।
विकल्पको रुपमा चित्लाङ सडकबाट काठमाण्डौ आउनु भएका हेटौँडा मनहरी गाउँपालिका–९ का राजेन्द्र अर्यालको अनुभव सुखद रहेन । ‘यताको बाटो बिग्रेर चित्लाङ तिरबाट आुको बाटो हो कि के हो गाडीले उफारेर अस्पताल नै जानुपर्ला जस्तो छ ढाड दुखेर । बिरामी, अशक्त आउने हो भने त गाडीमै ज्यान जाला कि भन्ने पो डर छ हो,’ अर्यालको भोगाइ हो यो । गएको बिहीवार काम विशेषले काठमाण्डौ आउनुभएका अर्याललाई बाटो र गाडीको अवस्था सम्झेर काठमाण्डौ त आउनै नपरे हुन्थ्यो जस्तो लाग्छ । तर, सङ्घीय राजधानी अनि विभिन्न कामले गर्दा नआइ नहुने बाध्यता रहेको उहाँको गुनासो छ ।
दूरी अथवा यातायातको सुलभताको हिसाबले पनि हेटौँडा–काठमाण्डौ खासै टाढा होइन । तर, केही समयदेखि बाटो मर्मतसम्भारका नाममा बाटो बन्द हुने अनि गाडी चल्दा पनि बाटो हो कि खोलाको बगर हो भनेजस्तो लाग्ने गरेको अर्याल बताउनुहुन्छ ।
‘मर्मत सम्भारका लागि भनेर बन्द गरिएका तीन वटा सडकहरु कहिले बनिसक्छन् र प्रयोग गर्न सकिन्छ भनेर भन्न नसकिने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन अर्याल बताउनुहुन्छ । अहिल मर्मतका लागि बन्द गरिएका तीनवटा सडक प्रदेश सरकार अन्तर्गत पर्ने र चलिरहेको चित्लाङको बाटो पनि केवल २० किलोमिटर मात्रै सङ्घअन्तर्गत पर्ने भएकोले यसका बारेमा आफूले यकिन गर्न नसक्ने अर्यालले बताउनुभयो ।
अहिले यी मर्मत गर्दै गरेका बाटोको विकल्पमा कान्तिलोकपथ प्रयोग गर्नु उचित हुने उहाँको भनाइ छ ।