यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । भूकम्पबाट प्रभावित जाजरकोटमा सरकारले सञ्चालन गरेको दादुरा र रुवेला तथा टाइफाइडविरुद्धको खोप कार्यक्रममा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । गएको पुस ४ देखि सञ्चालन भएको खोप अभियान अन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।
त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ ।
आपतकालिन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।