|  

मधेस प्रदेशमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित

२८ पुष २०८०, शनिबार १२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।

शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको संख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने संख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा। जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए ।
चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।

शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

२८ पुष २०८०, शनिबार १२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस