|  

जनताको माग अनुसार रेलमार्गको विकल्प खोज्न सरकार तयार छ : मन्त्री ज्वाला

२८ पुष २०८०, शनिबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतिय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधरण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ । चितवनमा शनिबार हुने विभिन्न कार्यक्रमहरुमा भाग लिन आउनुभएका मन्त्री ज्वालाले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जनताकै माग अनुसार रेलमार्गको विकल्प खोज्न पनि सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री ज्वालाले जनताका असन्तुष्टि एवम् गुनासाहरु सरकारले सुन्नपर्ने धारणा पनि राख्नुभयो । “छलफल अनुसन्धान र अध्ययनबाट एउटा निश्कर्ष निकाल्ने छौँ । यथार्थ अवस्था, जनताको भनाइ के हो वुझेर नै नयाँ निर्णय लिने छौं”, उहाँको स्पष्ट भनाइ छ । उहाँले जनताको विरोध आएपछि नयाँ निर्णय नभएसम्मका लागि अहिले सिमाङ्कनको काम नै रोकिएको जानकारी दिनुभयो ।

“आवाज उठेपछि विरोध भैसकेपछि त्यो विषयमा अहिले काम नगर्ने भनेर रेङ्कनकै काम रोकिएको अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले अहिले सिमाङ्कन भएको विकल्पहरुका पनि छलफल हुन सक्ने धारणा राख्नुभयो ।

“सरकार उपयुक्त विकल्पको खोजीमा छ । यसमा यहाँका जनप्रतिनिधीहरुको पनि राय सुझाव के आउँछ त्यसैलाइ आधार बनाएर अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । रेल विभागले सुरु गरेको रेल मार्गको अध्ययनमा निजगढबाट हेटौँडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व पश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिण तर्फबाट अघि बढाएर नारायणी नदी तारेर नवलपरासीको अमरापुरी पु¥याउने प्ररम्भिक नक्साङ्कन तयार छ । यसरी रेल मार्ग जाँदा चितवनको भरतपुर महानगरको वडा नम्वर ८, ७, ५ र ४ नम्वर वडा हुँदै जाने देखिन्छ । यहि सिमाङ्कनको विषयमा चितवनमा संर्घष समिति नै बनाएर विरोधका कार्यक्रम गर्न थालिएपछि सरकारले यसको विकल्पको लागि तत्परता देखाएको हो ।

यस्तै अहिले बजेट अभावकै करण देशभरीकै ठूला सडक निर्माणको काममा समस्या परेको पनि उहाँले जनाउनुभयो । “बजेटमै हाम्रो मन्त्रालयको सिलिङ्ग ३७ अर्व रुपियाँले घटेको छ । यसले समग्र निर्माण कार्यममा समस्या त पर्ने नै भयो”, उहाँले भन्नुभयो । अहिले कतिपय स्थानका आयोजनाहरुमा बजेटसँगै राइटअफ वेको समस्या पनि देखिएको उहाँले जनाउनुभयो ।

“आइलागेका समस्या पहिचान गर्ने छलफल गर्ने र अर्थ मन्त्रालयसग वजेट माग गरेर समाधान गर्ने गरि अघि बढेका छौं” उहाँले भन्नुभयो ।

नारायणगढ वुटवल, नारायणगढ मुग्लिन, नारायणगढ गोन्द्राङमा रहेका सडक तथा पुलका निर्माणको कामहरु तिब्र रुपमा अगाडी बढेको र यसले छिटटै निर्माण सम्पन्न हुने दावि पनि उहाँले गर्नुभयो ।

 

२८ पुष २०८०, शनिबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस