|  

मुग्लिन–मलेखु सडकको विस्तारको काम सुस्त, १ वर्षमा ६ प्रतिशत मात्र

४ माघ २०८०, बिहीबार ११:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु भएको थियो । तर १ वर्षमा जम्मा ६ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

सडक विस्तारको काम सुस्त हुँदा यात्रु तथा वरपरका बासिन्दा धुलो, हिलो र खाल्डाखुल्डीले हैरान भएका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको यात्राको समय लम्बिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षा र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । १ वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै ६ महिना लागेको उहाँले जानकारी दिनुभयो । अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ ।

यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटा पुलको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम शुरु हुन सकेको छैन । अन्य २ वटा पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

३ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

४ माघ २०८०, बिहीबार ११:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस