यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । मधेस प्रदेशमा आज छैटौं बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।
विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।