यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी/धादिङको गजुरी गाउँपालिका ५ गलौँदीमा महोत्सवको तयारी तिब्र छ । यहि माघ १० गतेदेखि सञ्चालन हुन लागेको महोत्सवमा अहिले स्टलहरु निर्माणको काम भईरहेको छ ।
धादिङको गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली किनारमा धादिङ उद्योग वाणिज्य संघले नवौँ धादिङ महोत्सव आयोजना गर्न लागेको हो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ १० गतेदेखि २१ गतेसम्म नवौँ धादिङ महोत्सव हुन लागेको आयोजकले जनाएकोे छ ।
कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचारप्रसार र प्रवर्द्धन गर्न र जिल्लाको सांस्कृतिक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा रहेको धादिङ उद्योग वाणिज्य संघ धादिङका सचिव रोहित भण्डारीले जानकारी दिनुभयो ।
‘महोत्सवमा अहिले २ सय २४ वटा स्टलहरुको काम भईरहेको छ । दुई सय ५० वटा स्टल बनाउने तयारी भईरहेको र आबश्यक मात्रामा यसको थप घट गरिने निर्माण ठेक्का पाएका अकवर टेन्ट हाउसले बताएका छन् । अहिले फलामले बारेर स्टलको निर्माणको काम भईरहेको छ ।
५० वटा स्टलहरू जिल्लाभित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरूको प्रवर्द्धनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क प्रदान गरिने भएको छ । स्थानीय उत्पादनको प्रचारप्रसार र प्रवर्द्धन र जिल्लाको सांस्कृतिक विविधताले जिल्लाको पहिचान खुलाउने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले बताउनुभयो ।