यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीन वटै तह समन्वय र सहकार्य गरि अगाडी बढ्नुपर्ने बताउनु भएको छ । विकास ठूला र राष्ट्रिय गौरवका आयोजना संघीय सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रष्ट व्यवस्था भएको भन्दै उहाँले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश मुख्यमन्त्री परिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा काभ्रेको धुलिखेलमा भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्नुभयो ।
उहाँले शिक्षा, कृषि, स्वास्थ्य र अन्य आयोजनाहरुको बारेमा स्थानीय तहहरुमा भइरहेका अधुरा, अलपत्र तथा बजेट अभावका कारण काम नभएको अवस्था भएमा तत्काल अध्ययन गरी अनुगमन प्रतिवेदन पेश गरेर सम्पन्नतातर्फ अगाडी बढ्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जनप्रतिनिधिहरुले गुनासोको कुरा बढी उठाउने र अधिकारको मात्रै खोजी गरिरहँदा नागरिकमा वितृष्ण पैदा हुँदै गएको भन्दै अब आशा र रचनात्मक काममा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले बागमती प्रदेश सरकारले तीन वटा नै तहका सरकारबीचमा कसरी समन्वय गरेर प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया थालनी गरेर समन्वय र सहकार्यको कामलाई अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख एवं नगरपालिका महासंघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले योजना निर्माण र कार्यान्वयनका लागि वैज्ञानिक ढंगले काम गर्न अन्तर्क्रिरया कार्यक्रमले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।