|  

‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’:अर्थमन्त्री महत

१२ माघ २०८०, शुक्रबार १५:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनुभएको हो ।

“समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भन्नुभयो । मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिनुभयो ।

“भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ ।” उहाँले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार क्षेत्रमा व्यावसायिक तथा प्रशासन इमानदारी आवश्यक रहेकोमा जोड दिनुभयो । साथै भन्सार प्रक्रियालाई अन्तर्राष्ट्रिय असल अभ्याससँग सामञ्जस्य मिलाउन, भन्सार पूर्वाधारलाई सुधार गर्ने, पेपरलेस, फेसलेस र कन्ट्याकलेस कार्यप्रणाली अवलम्बनका लागि भन्सार तयार रहेको उहाँको भनाइ थियो ।

 

१२ माघ २०८०, शुक्रबार १५:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस