|  

दुई सातापछि मेलम्चीको पानी पूर्ण क्षमतामा वितरण

१२ माघ २०८०, शुक्रबार १५:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले दुई सातापछि पूर्ण क्षमता फुलफेजमा मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । आयोजनाले काठमाडौं उपत्यकामा बिछ्याएको एक हजार १० किलोमिटर पाइपलाइनबाट पानी वितरणको तयारी गरेको हो । हाल पाँच सय किलोमिटर नयाँ पाइपलाइन र पाँच सय किलोमिटर पुरानो पाइपलाइनबाट मेलम्चीको पानी वितरण भइरहेको छ ।

पानी नपठाएको पाँच सय १० किलोमिटरमा हाल पानी वितरण परीक्षण भइरहेको र आगामी दुई साताभित्र थप पाइपलाइनमा क्रमशः पानी वितरण सुरु हुने आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले जानकारी दिए । असारसम्ममा पूर्ण क्षमतामा पानी वितरण गरिसक्ने उनको भनाइ छ । त्यसपछि पुरानो पाइपलाइनबाट पानी वितरण गर्न छाडिनेछ ।

हाल मेलम्ची खानेपानी आयोजना वितरण चक्रपथभित्र मात्रै केन्द्रित छ भने यसमा पनि कलंकी र स्वयम्भू क्षेत्रमा पाइपलाइन राखिँदै छ । अन्य क्षेत्रमा भने पुरानो र नयाँ पाइपबाट पानी वितरण गरिँदै आएको छ । बाँकी पाँच सय १० किमिमा आगामी दुई साताभित्र परीक्षण सकेर स्थायी रूपमै सबै नयाँ पाइपबाट मेलम्चीको पानी वितरण गरिनेछ । नयाँ पाइपलाइनबाट पानी वितरण गर्दा चुहावट तथा लिकेजको समस्या नहुने निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर सापकोटाले जानकारी दिए । यस वर्ष सरकारले १ माघदेखि मेलम्चीको खानेपानी वितरण सुरु गरेको हो । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने लक्ष्य लिएको छ ।

 

१२ माघ २०८०, शुक्रबार १५:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस