यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । धादिङमा माघ १६ गते सहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्ष सर्मिला अर्यालले प्रदेश हवलाई बताउनुभयो ।
रगतदान नै जिवन दान हो भन्ने मुख्य उदेश्यले आयोजना गर्न लागीएको रक्तदान कार्यक्रममा आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।
नेपालमा विसं २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंशाकार नेपालका प्रथम रक्तदाता हुन् । उनले विसं २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ अभियान सुरु गरेका थिए ।
माघ १६ गते उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन् ।
रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हुदैँन ।
उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन् ।