|  

अफगानिस्तानविरुद्ध ऐतिहासिक जित गरेको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने

१३ माघ २०८०, शनिबार १०:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे । अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो ।

अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए । नेपाल समूह ’डी’ मा तेस्रो हुँदै ‘सुपर सिक्स’मा पुगेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो ।

 

१३ माघ २०८०, शनिबार १०:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस