यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अर्थ मन्त्रालयले गणेशमान मार्ग थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन आठ करोड विनियोजन गरेको थियो ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका उच्च पदस्थ कर्मचारीले गणेशमान मार्गको बुधबार अनुगमन गरेका छन् । गत पुस २८ गते सो मार्ग अन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।