यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो ।
अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । यो विधेयक आजै संसदमा पेस हुँदैछ ।
दिउँसो ४ बजे बस्ने आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश पनि पेस गर्ने कार्यसूची छ ।
हिउँदे अधिवेशनबाट ३० वटाभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य रहेको सरकारले जनाएको छ । सङ्घीय संसदमा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । यसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । यसपालिदेखि हिउँदे अधिवेशनमै ‘प्रि–बजेट’ सम्बन्धी छलफलसमेत हुुने भएको छ ।