|  

एक हजार २६ वटा स्मार्ट लाइट काठमाडौंका सडकमा जडान

२२ माघ २०८०, सोमबार १५:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली– माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडकखण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही सङ्ख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ ।

स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ वटा सोलार प्यानल हटाइएको छ । यी पोलहरु महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो । यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो ।

जडान गरिसकेपछि सबै बत्तीहरुलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ । यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ ।

२२ माघ २०८०, सोमबार १५:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस