|  

नारायणगढ बुटवल सडक निर्माण गर्न विद्युत पोल हटाउन ढिलाइ हुँदा समस्या

२८ माघ २०८०, आईतवार १४:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पश्चिम नवलपरासी/नारायणगढ बुटवल सडक विस्तारका लागी थपिएको म्याद सकिन पाँच महिनाको मात्र अवधि बाँकी छ, तर सडकका दुवैतर्फ रहेका पोल सार्न ढिलाई हुँदा काममा अवरोध सृजना भएको छ ।

कामले गति लिएपनि आयोजनाको पश्चिम खण्डमा अझै ६४ प्रतिशत विद्युतका पोल सार्न बाँकी छ । अहिले सहरी क्षेत्रलाई केन्द्रित गरेर धामधम काम भईरहेपनि विद्युतका पोलकै कारण ठाँउ ठाँउमा काममा अवरोध सृजना भएको छ ।

आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले विद्युतका पोल नै अहिलेको कामको मुख्य चुनौतीको रुपमा खडा भएको बताउनुभयो । मिश्रले जम्मा ३६ प्रतिशत पोल मात्र पश्चिम खण्डमा सारेर सकिएको बताउँदै अझै ६४ प्रतिशत पोल सार्न बाँकि रहेको जानकारी दिनुभयो ।

पोल सार्ने जिम्मा स्वयम् ठेकेदारको हो, ठेकेदार चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ्ग कर्पोरेशनले नेपाली ठेकेदारलाई पोल सार्न जिम्मा दिएको छ तर नेपाली ठेकेदारले समयमै भुक्तानी नभएको भन्दै काममा ढिलाई गर्दा सडक कालोपत्र गर्न सुरु भईसक्दा समेत पोल सार्ने काम पुरा हुन नसकेको हो ।

सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बाँकि हुँदा माटो फिलिङ्गको काममा ढिलाई भएको छ । विद्युत प्राधिकरणले फागुन मसान्तसम्ममै पोल सार्ने काम सक्न भनेको मिश्रले बताउनुभयो ।

गर्मी मौसम सुरु हुने भएकाले लाईन् काट्न समस्या हुने भन्दै प्राधिकरणले एक महिनाभित्र काम सक्न भनेको छ, मिश्रले बताउनुभयो । अहिले स्थानिय ठेकेदारलाई चाईना स्टेटले भुक्तानी गरिसकेकाले अब धमाधम काम सुरु हुने मिश्रले बताउनुभयो ।

 

 

२८ माघ २०८०, आईतवार १४:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस