|  

‘नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ’ : प्रधानमन्त्री दाहाल

५ फाल्गुन २०८०, शनिबार १६:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताए ।

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए ।

लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिए ।

५ फाल्गुन २०८०, शनिबार १६:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस