यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दुई समुदायबिचको तनाव कारण वीरगन्ज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ । सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो ।
प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
दोस्रो दिनको कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।