|  

धादिङको सिम्ले हुँदै मिटरब्याज पीडितहरु काठमाण्डौतर्फ

९ फाल्गुन २०८०, बुधबार ११:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ ‍। न्याय मार्चमा निस्किएका मिटरब्याजपीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ लागेका छन् । झण्डै दुई सय महिला र एक सय ५० जना पुरुष गरी साढे तीन सयको सङ्ख्यामा रहेका उनीहरु पैदल यात्रामा छन् ।

बिहान ७ बजे धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट उनीहरु काठमाण्डौतर्फ लागेका हुन् । हिजो नै काठमाण्डौ छिर्ने भने पनि पैदल यात्रा सकसपूर्ण रहेको र दिनमा २० किलोमिटर पनि हिँड्न नसक्ने अवस्था रहेको पीडितको गुनासो छ । थकाइ र शरीर गलेका कारण आज बेलुकासम्म पनि काठमाण्डौ छिर्न मुश्किल पर्ने देखिएको उनीहरुको भनाइ छ ।

मिटरब्याज पीडित निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आउन लागेका हुन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाण्डौतर्फ लागेका हुन् । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।

 

९ फाल्गुन २०८०, बुधबार ११:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस