यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।
नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।
सन् १९५२ मा बङ्लादेशमा मातृभाषा बङ्गाली भाषा बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।
दिवसको सन्दर्भमा आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना भएको छ । यही १९ तारिखदेखि शुरु भएको उत्सव २५ तारिख अर्थात् १३ गते आइतवारसम्म चल्नेछ । यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।