यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा भएको उनले बताइन् ।
“सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भएको छैन,” उनले बाह्रखरीसित भनिन्, “पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।”
“भोलि पनि बदली हुन्छ । भोलि काठमाडौंमा वर्षाको सम्भावना भने एकदमै न्यून छ,” उनले भनिन् ।
यो प्रणाली विस्तारै पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेको उनले जानकारी दिइन् । “पश्चिमबाट विस्तारै पूर्वतिर सर्दै छ । पश्चिमबाट विस्तारै मौसम खुल्दै जान्छ,” उनले भनिन्, “पूर्वमा भने वर्षा भएको छैन ।”
पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको चिसापानीगढीमा २।८ मिलिमिटर मापन गरिएको उनले बताइन् । यो पनि हल्का वर्षा नै भएको उनले जानकारी दिइन् ।
उनका अनुसार, देशका केही स्थानमा आज चट्याङ समेत परेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित मकवानपुर, चितवन, दोलखा, रुपन्देहीमा मेघगर्जन चट्याङ भएको उनले बताए । “मेघगर्जन भएका सबै स्थानमा चट्याङ नै परेको हुन्छ भन्ने हुँदैन । त्यसैले हामीले मेघगर्जन चट्याङ भन्ने गरेका छौँ ।”