यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गर्नुभयो । सांसद बिना लामाले मिटरब्याजपीडितको समस्या समाधान हुन नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले दुग्ध किसानको माग सम्बोधन गरी उनीहरुले बिक्री गरेको दूधको पैसा भुक्तानी गर्नुपर्ने बताउनुभयो ।
सांसद विद्या भट्टराईले कास्कीका अधिकांश सहकारी समस्यामा परेको, सूर्यदर्शन सहकारीपीडितहरु सबैभन्दा बढी मारमा परेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । “पोखरा महानगरमा तीन सय ६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन आवश्यक छ”, उहाँले भन्नुभयो ।
सांसद विनिताकुमारी सिंहले मधेस प्रदेशमा साक्षरता दरमा सबैभन्दा पछाडि परेको, अनुगमनमा ध्यान नदिइएको, शिक्षामा लगानी कम भएकाले अपेक्षित प्रगति हुन नसकेको धारणा राख्नुभयो ।