यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनी सेनाको आक्रमणमा परी मारिएका छन् । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।
तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ती भएका पुनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्याएपछि मृत्यु भएको पुष्टि भएको हो । उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्त समेत पर्ने दाङ घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।
मृत्युअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्न समेत बताएका थिए । घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकै पटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उनले भने । आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उनले बताउने गरेको डम्बरको भनाइ छ ।