यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष आव २०८०/८१ को पहिलो छ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण अपरिष्कृत अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बिजुली खरिद, प्रशासनिक, आयोजनाहरूलगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड छ लाख रुपैयाँ नाफा करकट्टी गर्नुअघि आर्जन गरेको छ । गएको आर्थिक वर्ष २०७९/८० को यही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।
गएको आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको यही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गएको आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२र७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली चुहावट नियन्त्रण, आन्तरिकरूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।