|  

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको अनुगमन

२१ फाल्गुन २०८०, सोमबार १४:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । खानेपानीमा समस्या आएको भनेर जनगुनासा आएपछि संसदीय समिति अन्तरर्गत पूर्वाधार उपसमितिले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रको अनुगमन गरेको छ ।

मेलम्चीबाट सुरुङमा ल्याएको पानी केन्द्रमा प्रशोधन गरेर मात्रै काठमाडौँमा खानेपानी वितरण गरिन्छ । अहिले वितरण भइरहेको पानी डब्लुएचओको मापदण्डअनुसार नै रहेको समितिले निष्कर्ष निकालेको छ ।

खानेपानीको विषयमा संसदीय समितिमा व्यापक जनगुनासा आएपछि यसको वास्तविकता बुझ्न खानेपानी उपसमितिले केन्द्रको अनुगमन निरीक्षण गरेको हो । अनुगमनपछि केन्द्रबाट हाल वितरण भइरहेको पानी विश्व स्वास्थ्य संगठनकै मापदण्ड बमोजिम प्रशोधन गरी वितरण भएको पाइएको छ ।

पानीको गुणस्तरमा कुनै शंका नगर्न र हल्लाको पछि नलाग्न सबै निकायलाई प्रशोधन केन्द्रले आग्रह गरेको छ । बाढीले अवरुद्ध पारेपछि मुहानदेखि प्रशोधन केन्द्रसम्म के भइरहेको छ भनेर बुझ्न आएको र केही विषयमा थप निर्देशन दिनुपर्ने उपसमिति संयोजक उर्मिला माझी बताउनुभयो । सरकारले माघ १ गतेबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनःवितरण सुरु गरेको थियो ।

केन्द्रमा तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरेर तथा प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्राभिटी फिडको व्यवस्था मिलाएर पानी प्रशोधन गरिरहेको छ । यो केन्द्र निर्माणका लागि जाइकाले पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

 

२१ फाल्गुन २०८०, सोमबार १४:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस