यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको छ सय ५० जना बाह्य पर्यटकले अवलोकन गरेका बताउनुभयो ।
आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ ।
गएको वर्ष चार सय ३९ जना विदेशी पर्यटक पुगेका थिए । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र बिस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो ।
कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ ।