|  

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता २८ गते हुने

२६ फाल्गुन २०८०, शनिबार ०६:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २६, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भने, “दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो ।”

उहाँको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । उनले भने, “सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।”

यसअघि राष्ट्रिय सभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । सहायक प्रवक्ता धमलाले भने, “फागुन २७ गते आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यव्रmम घोषणा हुने छ ।”

 

२६ फाल्गुन २०८०, शनिबार ०६:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस