यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।
आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।
संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।
पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए ।