यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शपथ खाएलगत्तै घोषणा गरे– ‘सुधार उन्मुख अर्थतन्त्रलाई लयमा ल्याउन निजी क्षेत्रको आत्मबल बढ्ने गरी काम गर्छु ।’
त्यसपछिका हरेकजसो सार्वजनिक कार्यक्रम तथा समारोहमा अर्थमन्त्री पुनले यस्तै भनाइ दोहोर्याइरहेका छन् । खासगरी कोभिड–१९ पछि बिस्तारै तङ्ग्रिँदै गरेको अर्थतन्त्र पछिल्लो समय शक्ति राष्ट्रहरूबिच चर्किएको द्वन्द्वका कारण प्रभावित बन्न पुग्यो ।
विश्व अर्थतन्त्रको चेनमा आएको परिवर्तन, आयात–निर्यात र पेट्रोलियम पदार्थको मूल्यका कारण अन्य मुलुकले जस्तै नेपालले पनि आर्थिक मन्दीको सामना गर्नुपरेको छ । आर्थिक शिथिलताकै कारण पछिल्लो वर्ष आयात घट्यो भने उपभोग्य बजारको माग नै नभएपछि स्वदेशी उद्योगहरू धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।
निर्माण क्षेत्रकै कुरा गर्नुपर्दा ६५ वटा उद्योग पूर्ण रूपमा बन्द भइसकेकोमा पछिल्लो समय थप एक दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले प्रदेश हवलाई बताउँछन् ।
देशको अर्थतन्त्रलाई मुख्य तीन क्षेत्रमा बाँड्न सकिने रहेछ– कृषि, पर्यटन र निर्माण क्षेत्र । यसमा निर्माण क्षेत्रले मात्र अर्थतन्त्रको ४० प्रतिशतको हिस्सा ओगटेको छ । बाँकी ६० प्रतिशत कृषि र पर्यटनले धानेको छ,’ उनले रातोपाटीसँग भने, ‘तर यतिबेला नेपालको निर्माण क्षेत्र ७० प्रतिशत डाउन छ । यसमा पनि खासगरी सिमेन्ट उद्योग प्रभावित छ ।’
यस्तै समस्या स्टिल उद्योगहरूले पनि भोगिरहेका छन् । निर्माण क्षेत्रका स्वदेशी उद्योगहरू कुल उत्पादन क्षमताको ३० देखि ४० प्रतिशत हाराहारीमात्र उत्पादनमा रहेको व्यवसायीहरूले बताइरहेका छन् ।