यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले महासंघको २७औँ महाधिवेशनको मिति तोकेको महासचिव रोशन पुरीले जानकारी दिए ।
बैठकले महासंघका सबै प्रदेशको अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिइएको पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ ।
बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।