यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा । आगलागीका घटनामा परेर बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । प्रदेशको १३ जिल्लामा हिउँदयाममा भएको आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको हो ।
वन निर्देशनालय बागमती प्रदेशका सूचना अधिकारी गोविन्द अर्यालका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित जनजागृति महिला सामुदायिक वन क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा भिरबाट लडेर धनबहादुर थापाको मृत्यु भएको छ । यस्तै रामेछापको खाडादेवी गाउँपालिका–७ मा रहेको भगवती सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका कर्णबहादुर मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
चैत सुरु भएयता मात्र बागमतीका ४ हजार हेक्टर वनमा डढेलो लागेको निर्देशनालयका सूचना अधिकारी अर्यालले बताए । उनका अनुसार रसुवामा मात्र करिब ३ हजार हेक्टर वनमा डढेलोले क्षति पुगेको छ ।
o:t} बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार गत फागुनदेखि हालसम्मको अवधिमा आगलागीका घटनामा परेर ७ जना घाइते भएका छन् । प्रदेशको काठमाडौँ उपत्यका बाहेकका जिल्लाहरूमा भएका आगलागीका घटनामा परेर ७ जना घाइते भएका हुन् भने ८५ पशुचौपाय मरेका छन् । प्रदेशका १० जिल्लामा फागुन महिनामा भएको आगलागीका घटनामा परेर ४ जना घाइते भएका छन् । उक्त घटनामा परेर ७३ पशुचौपाय र ३ हजार २२३ पन्छी मरेका छन् । घटनामा ८ पशुचौपाय घाइते भएका छन् ।
सो अवधिको आगलागीका घटनामा परेर ६ पक्की, १६ कच्ची घर तथा १६ गोठ, ३ टहरा र २ सवारीसाधन जलेका छन् । फागुन महिनाको आगलागीका घटनामा आर्थिक रूपमा १ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुमान रहेको छ ।