यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताउनुभएको छ ।
एमाले बागमती प्रदेशले मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उहाँले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने बताउनुभयो ।
पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उहाँले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनाबमा टिकट दिने बताउनुभयो ।
विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको स्मरण गर्नुभयो ।
पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उहाँले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारेमा बृहत छलफल हुने बताउनुभयो ।