यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ। एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन्।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी प्रदूषित हुने भएकाले जनस्वास्थ्यमा असर पुगेको छ। जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकहरुले बताउँदै आएका छन्।
खानेपानी मन्त्रालयका उप–सचिव मधु तिमल्सेनाले गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न मन्त्रालय लागिरहेको बताए। ‘१२० वर्षदेखि बिछ्याइएका खानेपानीका पाइपलाइनबाट पानी वितरण गरिने भएकाले पानीको स्रोत नै प्रदूषित हुँदा गुणस्तरीय पानी वितरणमा समस्या देखिएको छ’, उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाको पानी भने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप नै रहेकाले ढुक्क भएर पिउँदा हुन्छ।’
मन्त्रालयका उप–सचिव तिमल्सेनाले जमिनमुनिको पानीमा आइरन बढी हुने भएकाले परीक्षण गरेर मात्रै पिउन सुझाव दिए। गुणस्तरका हिसाबले नयाँ खानेपानी आयोजनामा भन्दा पुराना आयोजनामा आइरन बढी हुने गरेको उनको भनाइ छ।