|  

देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने

११ चैत्र २०८०, आईतवार १२:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।

उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

 

११ चैत्र २०८०, आईतवार १२:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस