|  

प्रतिनिधि सभाको बैठक लगातार चैत २१ गतेसम्म बस्ने

१७ चैत्र २०८०, शनिबार १४:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिचको छलफल सकिएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनेको छ ।

बैठकपछि बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने क्यालेन्डर बनाएको जानकारी दिइन् । प्रतिपक्षी दलको तर्फबाट राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव गरेको बताइन् ।

यस्तै बैठकले चैत २७, २८ र २९ गते पनि लगातार बैठक राख्ने क्यालेन्डर बनाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । आइतबार ११ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय भएको छ ।

बैठकपछि बोल्दै एमाले प्रमुख सचेतक बर्तौलाले संघीय निजामती सेवा ऐनको विधेयक अघि बढाउने, केही विधेयक समितिमा पठाउने र समितिमा भएका विधेयक हाउसमा पठाउने बारे छलफल भएको जानकारी दिए ।

 

१७ चैत्र २०८०, शनिबार १४:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस