|  

दूतावासलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन : आर्थिक कूटनीति प्रभावकारी बनाउनू

१७ चैत्र २०८०, शनिबार १४:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक तीव्र आर्थिक समृद्धिको यात्रामा रहेकाले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिनुभएको छ ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग ल्हासामा रहेको नेपाली माहावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र परस्पर लाभको पक्ष प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा भएका उच्चस्तरका भेटमा आर्थिक सहयोग अभिवृद्धिलाई मुख्य केन्द्रमा राखिएको बताउनुभयो ।

नेपालको प्रत्यक्षरूपमा तिब्बतसँग जोडिएका नाका र यसका अतिरिक्त छोङछिङ, सिचुवान र तिब्बतलाई नेपालको विकाससँग सम्बन्धित नेपाल चीन आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “मुलुकमा लगानी तथा व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहयोगमा दूतावासले महत्त्वपूर्ण योगदान गर्नुपर्ने आवश्यकता छ ।”

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलत बनाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकार आर्थिक विकासको प्रक्रियालाई तीव्र र मूर्त बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

 

१७ चैत्र २०८०, शनिबार १४:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस