|  

मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने

१९ चैत्र २०८०, सोमबार १४:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार सत्ता गठबन्धनका शीर्ष नेताबीच आलोपालोमा नेकपा एसलाई पनि मुख्यमन्त्री दिने सहमति भएको थियो ।

बालुवाटारमा सहमति भएपछि बागमती प्रदेश सभामा नेकपा एस संसदीय दलका नेता कृष्णप्रसाद खनालले विश्वासको मत दिने निर्णय भएको बताएका छन् । बागमतीमा नेकपा एसका ७ जना सांसद छन् ।

७ मध्ये एक प्रदेशमा मुख्यमन्त्री नपाए बागमतीमा विश्वासको मत नदिने नेकपा एसले अडान राख्दै आएको थियो । नेकपा एसले तत्कालै सुदुरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई पनि सुदूरपश्चिमको मुख्यमन्त्री दिने आश्वासन दिएका छन् । गठबन्धनबीच एकवर्ष जम्कमट्टेलले नै सरकार चलाउने र बाँकी अवधिमा नेकपा एमाले र एसले मुख्यमन्त्री चलाउने सहमति भएको नेकपा एसका एक शीर्ष नेताले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

 

१९ चैत्र २०८०, सोमबार १४:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस