यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुन कार्यान्वयनका लागि सञ्चार माध्यमको जागरण अभियान आवश्यक रहेको बताएकी छन् ।
रेडियो नेपालको ७४औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री शर्माले जनपक्षीय र प्रगतिशील कानुन बनाए पनि कार्यान्वयनले तीव्रता लिन नसकेको उल्लेख गरेकी हुन् ।
नेपालको कानुनले हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पतीको समान अधिकारलगायत व्यवस्था गरेको मन्त्री शर्माले बताइन् । यस्तो समावेशी कानुनी व्यवस्थालाई कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको उनले बताइन् ।
मन्त्री शर्माले गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको उल्लेख गरिन् ।