यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विषयमाथि जवाफ दिँदै उनले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भइ अध्ययन सुरु भएको बताइन् ।
शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि उनले बताइन् । उनले नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने(नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिइन् ।
त्यस्तै मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट गरिने सम्पूर्ण कामलाई डिजिटल प्रविधिमा लैजान बोलपत्र प्रक्रिया अघि बढिसकेको भन्दै प्रमाणपत्रहरू डिजिटल रूपमै उपलब्ध गराउने गरी काम अघि बढाइएको बताइन् ।
त्यस्तै उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै प्राविधिक र व्यवहारिक शिक्षालाई थप परिणाममुखी बनाउन मन्त्रालयले काम गरिरहेको दावी गरिन् ।