यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायीको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आन्तरिक कारणले मात्रै नभई विश्वव्यापी रूपमा देखिएको असहजतालाई सम्बोधन गर्न तथा उद्योग व्यवसायलाई चलायमान बनाउन नीतिगत निर्णय गरेर केही ऐन कानुनलाई परिमार्जित गरी बजेट विनियोजन गर्ने मनस्थितिमा सरकार रहेको बताए ।
नीतिगत निर्णय लिँदा अर्थतन्त्रमा खासै प्रभाव नपर्ने भएकाले औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण गर्न कच्चा पदार्थको आयात निर्यातमा सरलता ल्याउन भन्सार महसुल र कर प्रणलीमा केही सुधार वा परिमार्जित गर्न परे सरकार पछि नहट्ने र यसैका कारण अर्थतन्त्रमा देखिएको निराशा चिर्न सरकार आफैँले लगानी गर्ने सोच बनाएको उनको भनाइ थियो ।
सरकारको आफ्नै केही बाध्यता, कठिनाइ र प्राविधिक समस्या रहेकाले एकै पटक सोचेको जस्तो काम हुन गाह्रो भए पनि समग्र रूपमा काम गर्ने वातावरण तथा लगानीमैत्री वातावरण बनाउन सरकार प्रयत्नशील रहेको उनले बताए ।