यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।
सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले बताए।
बिएसी २७३५ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा चार जना घाइते भएका हुन्। सांसद खानको दाहिने हातमा चोट लागेको छ। साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ।
उनीहरूलाई उपचारको लागि मलेखु अस्पताल पठाइएको थियो। त्यहाँबाट थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक लामाले बताए।